देशभर आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौँ,साउन ३१— भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमी आज देशभर पूजा–आराधना, भजन–कीर्तन र धार्मिक कार्यक्रमसहित श्रद्धापूर्वक मनाइँदैछ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
यस अवसरमा देशभरका कृष्णमन्दिरहरूमा विशेष पूजाअर्चना, प्रवचन, भजन–कीर्तनसँगै भक्तजनले व्रत बस्ने र रातभर जाग्राम बस्ने प्रचलन रहँदै आएको छ। भगवान् विष्णुको आठौँ अवतारका रूपमा अवतरण भएका श्रीकृष्णले अन्याय र राक्षसी प्रवृत्तिबाट मानवताको रक्षा गरेको धार्मिक ग्रन्थमा उल्लेख छ।
कुरुक्षेत्रको युद्धमा अर्जुनलाई दिएको उपदेश श्रीमद्भागवत गीता मानव जीवनको मार्गदर्शन गर्ने विश्वप्रसिद्ध ग्रन्थ मानिन्छ, जुन सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।
बाल्यकालदेखि नै चमत्कारी लीला देखाएका श्रीकृष्णले कंश, जरासन्ध, शिशुपाललगायत दानवी प्रवृत्तिको संहार गरेको पौराणिक विश्वास छ।
पर्वको अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने, कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन कृष्ण मन्दिर लगायत राजधानीका विभिन्न स्थानमा भक्तजनको भीड लाग्नेछ। यसैगरी, विभिन्न धार्मिक सङ्घ–संस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा आयोजना गर्ने परम्परा रहिआएको छ।

