विश्व बजारमा नेपाली हस्तकलाका मूर्तिको पहिचान, वार्षिक ३५ करोड बढीको निर्यात



काठमाडौँ, साउन ३१ — नेपालमा निर्मित काठ, प्रस्तर, तामा, चाँदी तथा सुन जलपित धातुका कलात्मक मूर्ति र सजावटी हस्तकलाका सामग्रीको माग विश्व बजारमा बढ्दो क्रममा छ। चीन, भारत, युरोप र अमेरिका प्रमुख आयातकर्तामा परेका छन्।

पुरातत्व विभागकी अधिकृत सरिता सुवेदीका अनुसार विगत छ वर्षमा २५ लाख २३ हजार ८२२ थान मूर्ति विदेश निर्यात भएका छन्। एक सय वर्षभन्दा कम उमेरका मूर्तिलाई मात्र निर्यातको अनुमति दिइने र सो भन्दा पुराना मूर्ति नेपालमै संरक्षण गरिने उनले बताइन्।

नेपालबाट चीनतर्फ बुद्ध धर्मसँग सम्बन्धित मूर्ति तथा थाङ्का, भारततर्फ हिन्दु देवी–देवताका मूर्ति प्रमुख रूपमा निर्यात हुने गरेको छ। चीनले नेपालबाट प्रायः बुद्धका विभिन्न आसनका मूर्ति, बेबी बुद्ध, तारा पञ्चध्यानीलगायत प्रस्तर तथा धातुका सामग्री किन्ने गरेको छ भने भारतमा गणेश, कुबेर, सरस्वती, कृष्ण, दुर्गा लगायतका मूर्तिको माग उच्च छ।

हस्तकलाका सामग्रीको उत्पादनलाई प्रोत्साहन गर्न राज्यले कर छुट प्रदान गर्दै आएको सुवेदीको भनाइ छ। नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष प्रचण्ड शाक्यका अनुसार वार्षिक ३५ करोड रुपैयाँभन्दा बढीका हस्तकलाका मूर्ति निर्यात हुने गरेका छन्। तर ठूलो परिमाणमा उत्पादन गर्न नसक्दा निर्यातको गति अपेक्षित रूपमा बढ्न सकेको छैन।

नेपालमा हस्तकला उत्पादनको दीर्घ इतिहास रहे पनि पछिल्ला पुस्ताले यसतर्फ ध्यान नदिँदा लोप हुने चिन्ता रहेकाले नयाँ आविष्कार र गुणस्तरीय उत्पादन आवश्यक भएको विज्ञहरूको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्