सर्पदंशबाट सप्तरीमा वृद्ध महिलाको मृत्यु
सप्तरी,साउन ३१ — सप्तरीको खडक नगरपालिका–९, लालपट्टीकी ७० वर्षीया भुलुरबती साहको सर्पदंशबाट मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ६ बजे आफ्नै खेतमा पानी पठाउने क्रममा सर्पले उनको बाँया हातमा टोकेको परिवारले जनाएको छ। घाइते साहलाई तत्कालै श्रीबरख गण सर्पदंश उपचार केन्द्र, कल्याणपुर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि सिराहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो।
अस्पतालमा शुक्रबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । मृतकको शव सोही अस्पतालमा राखिएको र घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

