फर्पिङ जलविद्युत् केन्द्र जीर्णोद्धारको पर्खाइमा



फर्पिङ (काठमाडौँ), भदौ १ । नेपालकै पहिलो र दक्षिण एसियाकै दोस्रो जलविद्युत् परियोजना फर्पिङ जलविद्युत् केन्द्र २०७२ सालको महाभूकम्पपछि बन्द अवस्थामा छ। नेपालको जलविद्युत् विकासको ऐतिहासिक प्रस्थानबिन्दु मानिने यस केन्द्रका उपकरणमा खिया लाग्न थालेपछि जीर्णोद्धारको खाँचो तीव्र भएको छ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार फर्पिङ जलविद्युत् केन्द्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। इन्जिनियरिङ डिजाइन सम्पन्न भइसकेको र प्रारम्भिक चरणमा करिब एक अर्ब ५० करोड रुपैयाँ खर्च गरेर मर्मत तथा अध्ययन केन्द्रको रुपमा सञ्चालन गर्ने कार्य अघि बढिरहेको उनले बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले फर्पिङ जलविद्युत् केन्द्रलाई सङ्ग्रहालय र दक्षिण एसियाकै जलविद्युत् अध्ययन केन्द्रको रूपमा विस्तार गर्ने सम्भावनाबारे छलफल भइरहेको जानकारी दिए। उनका अनुसार, “स्वच्छ ऊर्जाको विकास र जलवायु अनुकूलनसँग जोडेर यसलाई अन्तर्राष्ट्रिय अध्ययन केन्द्रकै रूपमा अघि बढाउन सकिन्छ।”

२०८१ असोजमा आएको भीषण वर्षा र बाढीले यो केन्द्र जलमग्न भएको थियो। तत्कालीन इन्चार्ज भीमसेन लामाले २०७२ सालको भूकम्पले भवनका भित्ता चर्किएको र तत्काल जीर्णोद्धार आवश्यक रहेको बताए।

विसं १९६८ जेठ ९ गते सञ्चालनमा आएको फर्पिङ जलविद्युत् केन्द्र २०६२/६३ मा बृहत् मर्मत (ओभरहलिङ) गरिएको थियो। त्यसबेला ३० देखि ५० किलोवाटसम्म विद्युत् उत्पादन भए पनि २०७२ सालको महाभूकम्पपछि मेसिन पुनः सञ्चालनमा आएको छैन।

फर्पिङ जलविद्युत् केन्द्रको निर्माणको खाका तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९६४ सालमा बेलायत भ्रमणपश्चात तयार पारेका थिए। भारतको दार्जिलिङमा १८९७ मा १३० किलोवाट र चीनको कुन्मिङमा १९११ मा २४० किलोवाट क्षमताको केन्द्र बनेसँगै नेपालमा यो परियोजना सुरु भएको हो।

हाल नेपालमा करिब ३,५०० मेगावाट विद्युत् उत्पादन भइसकेको छ भने सरकारले आगामी दस वर्षमा २८,५०० मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ। तर नेपालकै पहिलो जलविद्युत् केन्द्र भने संरक्षण र जीर्णोद्धारको पर्खाइमै छ।

प्रतिक्रिया दिनुहोस्