मेलाको उद्घाटन विषय लिएर झडप, नगर प्रमुख सहित पाँच जना घाइते
रौतहट,भदौ १ । रौतहटमा मेला उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयर र दुई जना प्रहरीसहित पाँच जना घाइते भएका छन् ।
जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप भएको हो । झडपमा परी देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह घाइते भएका छन् ।
झडपमा मेयर साहसहित इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर, जगदीश यादव लगाएतका पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताए ।
झडपमा घाइते भएका मेयर साहको टाउकोमा गम्भीर चोट लागेको छ भने बाँकि चार जनाको अवस्था सामान्य रहेको डीएसपी कार्कीको भनाई छ । घाइते सबैजनाको गरुडास्थित बेटर नेपाल हस्पिटलमा उपचार भइरहेको छ ।
टाउकोमा चोट लागेका कारण मेयर प्रेमलाल साहलाई थप उपचारका लागि वीरगन्ज रेफर गर्ने तयारी भइरहेको डिएसपी कार्कीले जानकारी दिए।
कृष्ण जन्माष्टमीको अवसरमा श्रीराम जानकी ब्रह्माबाबा मठ धरहरीमा आयोजना गरिएको मेला उद्घाटन गर्ने विषयलाई लिएर मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबिच विवाद उत्पन्न भई झड्पमा परिणत भएको थियो ।
मेला उद्घाटन गर्न मेयर साह मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिएपछि दुवै पक्षबीच विवाद भई हातपात भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका राधामोहन साह, रामविनोद साह र ऋतिक साह इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बताए ।

