‘तामाङ मिडिया अवार्ड २०८२’ नुवाकोटका पत्रकार टीकाराम तामाङ र मालती मोक्तानलाई प्रदान
काठमाडौं,भदौ २ । ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा ‘तामाङ मिडिया अवार्ड २०८२’ नुवाकोटका पत्रकार टीकाराम तितुङ तामाङ र मालती मोक्तान मानवीलाई प्रदान गरिएको छ । तामाङ पत्रकार संघ संघीय कार्यालयले काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ र वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री कृष्ण कुमार तामाङले अवार्ड हस्तान्तरण गरेका हुन् ।
अवार्ड अन्तर्गत १० हजार १ सय रुपैयाँ नगदसहितको पुरस्कार र सम्मानपत्र रहेको छ । नुवाकोटका टीकाराम तामाङ कान्तिपुर मिडिया ग्रुपअन्तर्गत ईकान्तिपुर डटकममा उपसम्पादकको रुपमा कार्यरत छन्, उनी नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङ्का स्थायी निवासी हुन् भने धनकुटाकी मालती मोक्तान सामुदायिक रेडियो लालीगुराँसमा आबद्ध रहेकी छन् ।
संघ, प्रदेश र जिल्ला समितिबाट प्राप्त सिफारिसका आधारमा दुई पत्रकारलाई छनोट गरिएको छनोट समितिका संयोजक प्रतीक ङेसुरले जानकारी दिए ।
संघका अध्यक्ष नेत्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अवार्ड प्राप्त गरेपछि आफ्ना भाव व्यक्त गर्दै टीकाराम तामाङले समुदायको तर्फबाट पहिलो अवार्ड प्राप्त गर्न पाउँदा खुशी लागेको बताए । सञ्चार क्षेत्रमा २१ वर्षको अनुभव सुनाउँदै उनले यो अवार्डले अझै निरन्तर काम गर्न प्रेरणा मिलेको उल्लेख गरे । साथै, सञ्चार क्षेत्रमा तामाङ समुदायको लगानी आवश्यक रहेको पनि उनले जोड दिए ।
प्रत्येक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस मनाइन्छ । २०५१ साल भदौ १ गते रेडियो नेपालमार्फत पहिलो पटक तामाङ भाषाको समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइँदै आएको हो ।

