नुवाकोटकी ललिताको हत्या गरेका श्रीमान भारत भाग्दै गर्दा पक्राउ



काठमाडौं,भदौ २ । नुवाकोट ककनी ५ की २७ वर्षीया ललिता सेन्चुरीको हत्या आफ्नै श्रीमानले गरेको खुलासा भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार बूढानीलकण्ठ नगरपालिका–२ भंगाल बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीले गत साउन २७ गते काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एण्ड लजमा श्रीमतीको हत्या गरेका थिए ।

हत्या गरी फरार भएका सन्तोषलाई आइतबार पर्साबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार परस्त्रीसँग शारीरिक सम्बन्धमा रहेका सन्तोषले सम्बन्ध विच्छेदका लागि भन्दै होटलमा बोलाएर ललिताको हत्या गरेका थिए ।

हत्या गरेर होटलको लो बेडमा शव लुकाएका सन्तोषले उल्टै श्रीमती हराएको भन्दै आफैं प्रहरीमा निवेदन दिएका थिए । तर होटलमा दुर्गन्ध फैलिएपछि सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि सन्तोष भारततर्फ भागेका थिए, जसलाई प्रहरीले पर्साको वीरगञ्ज नजिकै समातेको हो ।

ललिता विक र सन्तोष सेन्चुरीबीच करिब दुई वर्षअघि विवाह भएको थियो । पक्राउ परेका सन्तोषलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्