नुवाकोटको त्रिवेणीधामस्थित वेद विद्याश्रम गुरुकुल भवन उद्घाटन
नुवाकोट, भदौ २ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ र शिवपुरी गाउँपालिका–६/७ को संगमस्थल त्रिवेणीमा निर्मित श्रीकृष्ण तीर्थस्थल वेद विद्याश्रम गुरुकुलको नवनिर्मित २ तले भवन आइतबार उद्घाटन गरिएको छ ।
संघीय सरकारको कुल २७ लाख बजेटमा बनेको भवनको उद्घाटन संघीय सांसद हितबहादुर तामाङले गरे । उनले थोरै बजेटमा पनि मितव्ययी तरिकाले भवन निर्माण सम्पन्न गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
धामका अध्यक्ष अर्जुन गुणीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र शिवपुरी गाउँपालिकाका उपाध्यक्ष विरबहादुर तामाङले वेद आश्रममा अध्ययनरत २/२ जना विद्यार्थीको वार्षिक २४ हजारको दरले अभिभावकत्व ग्रहण गर्ने घोषणा गरे ।
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. प्रधुम्न महत, विभिन्न वडाका अध्यक्ष, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई श्रीकृष्ण रथ यात्रा र स्थानीय महिलाहरुको पञ्चेबाजाले झनै आकर्षक बनाएको थियो ।

