दुप्चेश्वरमा अशक्तलाई घरमै पुगेर नागरिकता: बसन्तीको जीवनमा आशाको किरण



नुवाकोट,भदौ २–जीवनका आधारभूत अधिकारमध्ये एक हो नागरिकता। तर, कहिलेकाहीँ शारीरिक अवस्थाले गर्दा त्यसको पहुँच सहज हुँदैन। यस्तै उदाहरण बनेकी छन् दुप्चेश्वर गाउँपालिका–२ वोलगाउँकी १८ वर्षीया बसन्ती तामाङ। अति शारीरिक अशक्तताको कारण उनले सामान्य हिँडडुल गर्नसमेत सक्दिनन्।

यस अवस्थालाई मध्यनजर गर्दै दुप्चेश्वर गाउँपालिकाको विशेष पहलमा इलाका प्रशासन कार्यालय सातविसे शाखाका प्रमुख साबित्रा भण्डारीसहित कर्मचारीहरूको टोली सीधै उनको घरमै पुगेको हो। गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, वडा नं–२ का अध्यक्ष बिरबल तामाङ लगायत जनप्रतिनिधि र कर्मचारीहरूको रोहबरमा बसन्तीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।

नागरिकता पाएपछि बसन्ती र उनका परिवारको अनुहारमा झल्किएको खुशी शब्दले बयान गर्न कठिन थियो। उनका बुबा उरवन तामाङले भने, “अपांग भएपनि छोरीले घरमै चिनारी पाइन, अब उसले पनि नागरिक अधिकार प्राप्त गरेकी छिन ।”

यस कार्यले दुप्चेश्वर गाउँपालिकाले अपांगता वा शारीरिक असक्षमताका कारण नागरिकता बनाउन नसक्ने अवस्थामाथि सहानुभूति मात्र होइन, व्यवहारिक समाधान पनि खोजेको स्पष्ट सन्देश दिएको छ। गाउँपालिकाका अध्यक्ष थापाले भने, “नागरिकता नागरिकको अधिकार हो, बाध्यता वा अवस्था जस्तो भए पनि गाउँपालिकाले यो अधिकार दिलाउन तयार छ।”

स्थानीयवासीका अनुसार बसन्तीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको घटना यस क्षेत्रमै पहिलोपटक हो। यसले आगामी दिनमा अन्य असहज अवस्थामा रहेका नागरिकलाई पनि अधिकार दिलाउन प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्