दुप्चेश्वर धामको वार्षिक आम्दानी १ करोड ४४ लाख, पारदर्शी व्यवस्थापन प्रतिवद्धता



नुवाकोट,भदौ २ —धार्मिक आस्था र विश्वासको केन्द्र दुप्चेश्वर धामको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। दुप्चेश्वर धाम व्यवस्थापन समितिले आर्थिक वर्ष २०८१/८२ को आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै पारदर्शी ढंगले धार्मिक, सांस्कृतिक, भौतिक तथा प्रशासनिक कार्य संचालन भइरहेको जानकारी दिएको हो।

समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भक्तजनबाट प्राप्त भेटी तथा दानमार्फत धामले कुल १ करोड ४४ लाख ८० हजार ९ सय २८ रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, खर्चतर्फ कर्मचारी तलब, आरती कर्मचारी तथा स्वयंसेवक भत्तामा ३० लाख ५५ हजार ७ सय रुपैयाँ खर्च भएको छ भने रासन खर्चमा १ लाख ६५ हजार ३ सय रुपैयाँ खर्च भएको छ।

यसैबीच २०८२ साल श्रावण महिनामा मात्र भेटी आम्दानीबाट ३१ लाख ८३ हजार ७ सय ८८ रुपैयाँ संकलन भएको व्यवस्थापन समितिले जनाएको छ।

दुप्चेश्वर महादेव धाम व्यवस्थापन समितिले प्रस्तुत गरेको आय–व्यय विवरण सार्वजनिक पारदर्शिता, उत्तरदायित्व र भक्तजनको विश्वासलाई उच्च प्राथमिकतामा राख्ने आफ्नो प्रतिवद्धताको हिस्सा भएको जनाएको छ। समितिले आगामी दिनहरूमा पनि धामको आम्दानी धार्मिक, सांस्कृतिक तथा विकासका गतिविधिमा खर्च गरिने विश्वास दिलाएको छ।

प्रतिक्रिया दिनुहोस्