मधेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिका बढ्दो क्रममा
जनकपुरधाम,भदौ ३ —मधेश प्रदेशमा पानीमा डुबेर मृत्यु हुने घटनामा बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार विगत तीन वर्षमा पानीमा डुबेर मृत्यु भएका ५८६ जनामध्ये ३४० बालबालिका रहेका छन्। मृतक बालबालिकामध्ये बालकको संख्या बालिकाभन्दा बढी देखिएको छ।
गत असार २४ गते जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित भैया पोखरीमा चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउतको डुबेर मृत्यु भएको थियो। उनीहरू नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उद्धार हुन नसकेर ज्यान गुमाएका थिए।
यस्तै गत जेठमा धनुषाको कमला नगरपालिकामा सडक निर्माणका क्रममा खनिएको खाल्डोको पानीमा डुबेर ७ वर्षीय रितिक साह र ५ वर्षीय रितिश साहको मृत्यु भएको थियो। उनीहरू दाजुभाइ रामबाबु र श्यामबाबुका छोराहरू थिए।
त्यसैगरी गत वर्ष असार २० गते धनुषाको धनौजी गाउँपालिका–५ मा रहेको सार्वजनिक पोखरीमा १० देखि १२ वर्ष उमेर समूहका तीन बालिकाको डुबेर मृत्यु भएको थियो। मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन नुहाउने क्रममा डुबेका थिए।
प्रदेश प्रहरी कार्यालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै पानीमा डुबेर २५६ जनाको मृत्यु भएको छ। यसमध्ये बालबालिका १५० (बालक ९६ र बालिका ५४), पुरुष ८२ र महिला २४ रहेका छन्। यस्तै आव २०८०/८१ मा १७५ जना र आव २०७९/८० मा १५५ जनाले पानीमा डुबेर ज्यान गुमाएका थिए।
प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार छारे रोग, जथाभावी खाल्डाखुल्डी निर्माण, अभिभावकको लापरबाही तथा पौडी खेल्ने क्रममा सतर्कता नअपनाउँदा बालबालिका बढी जोखिममा पर्ने गरेका छन्।
तथ्याङ्कअनुसार आठवटै जिल्लामध्ये सबैभन्दा बढी डुबेर मृत्यु धनुषामा भएको छ भने सबैभन्दा कम पर्सामा भएको छ।

