कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपाली १२ पुगे



कुवेत,भदौ ३ — कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले पछिल्लो दिनसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।

गत साता ‘मेथानोल’ मिसाइएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, घटनामा हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका छन् ।

यस घटनापछि कुवेत प्रहरीको छापामा नेपाली नागरिकसहित ६७ जना पक्राउ परेका छन् । कुवेतको आन्तरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरिएको थियो । उनको बयानका आधारमा अन्य नेपालीसहित भारतीय र एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये मुख्य अभियुक्तहरूमाथि हत्या अभियोगसमेत लाग्न सक्ने कुवेती सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले छापा मार्दा आवासीय तथा औद्योगिक क्षेत्रमा सञ्चालन भइरहेका ६ वटा अवैध मदिरा कारखाना नियन्त्रणमा लिएको छ ।

यसैबीच कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा उपचाररत आप्रवासीलाई उपचारपछि पक्राउ गरी देश निकाला गर्ने तयारी गरेको छन् । आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।

कुवेतमा मदिरा उत्पादन, सेवन र बिक्रीमा पूर्ण प्रतिबन्ध छ । अवैध रुपमा सेवन वा बिक्री प्रमाणित भएमा आप्रवासीलाई तत्काल देश निकाला गर्ने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्