नेपालमा मनसुन कमजोर, केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना



काठमाडौँ,भदौ ३— न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेका कारण नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखिएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

राति कोशी प्रदेशसहित विभिन्न प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा र तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो, बाढी र पानीको सतह बढ्ने सम्भावनाबारे सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्