सवारीको पहिचान सडकको गेटबाटै
काठमाडौँ, भदौ ३ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य भएपछि यसको कार्यान्वयनलाई प्रभावकारी बनाउन मुलुकभर आठ स्थानमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस गेट’ (आरएफआइडी) निर्माण गरिने भएको छ। यी गेटमार्फत उच्च सेन्सरयुक्त क्यामराले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट र अन्य विवरण सहजै रिड गर्नेछ।
यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवका अनुसार पहिलो चरणमा मुलुकभर १० स्थानमा गेट निर्माण गरिने योजना छ। हालसम्म काठमाडौँ उपत्यकाको नागढुङ्गा र नागार्जुनमा सञ्चालन भइसकेको छ भने फर्पिङ र बारास्थित पथलैयामा निर्माणाधीन छ। आगामी चार महिनाभित्र यी गेट सञ्चालनमा आउने विभागले जनाएको छ।
यस्तै, पूर्व–पश्चिम राजमार्गको इटहरी, बुटवल, कोहलपुर, अत्तरियामा र पृथ्वी राजमार्गको पोखरा तथा बीपी राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा पनि गेट निर्माण गरिनेछ। विभागले यसका लागि अमेरिकाको डेकाटुर आइटीसँग करिब चार अर्ब ९५ करोड रुपियाँमा सम्झौता गरिसकेको छ।
निर्देशक यादवका अनुसार, गेटमा जडान हुने क्यामराले इम्बोस्ड नम्बर प्लेटसँगै सवारीसाधनको प्रमाणपत्र (बिलबुक) मा रहेको विवरण, इन्जिन नम्बर, चेसिस नम्बर, नागरिकता र सवारीधनीको नाम समेत रिड गर्ने सुविधा दिनेछ। यसले सवारीसाधनको वास्तविक धनी पहिचान गर्न सजिलो हुने बताइएको छ।
अहिलेसम्म करिब ८० हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको विभागले जनाएको छ। मोटरसाइकलका लागि २ हजार ५००, तीनपाङ्ग्रे सवारीका लागि २ हजार ९००, मझौला सवारीका लागि ३ हजार २०० र ठूला सवारीका लागि ३ हजार ६०० रुपियाँ शुल्क तोकिएको छ।

