लौके झरना जान देखाउने साइन बोर्ड तोडफोड, स्थानीय आक्रोशित



नुवाकोट, भदौ ३ । नुवाकोटको शिवपुरी गाउँपालिका–८, थापागाउँमा गएराति अज्ञात व्यक्तिहरूले सार्वजनिक साइन बोर्डहरू तोडफोड गरी बितन्डा मच्चाएका छन्।

लौके झरना जाने बाटो देखाउने साइन बोर्ड र घट्टेकी देवी मन्दिर जाने बाटो देखाउने साइन बोर्ड अज्ञात समूहले च्यातचुत गर्दै बोर्डको स्ट्यान्ड भाँचेर टिनको ब्यानरसहित ध्वस्त पारिदिएको स्थानीयले बताएका छन्।

सार्वजनिक सम्पत्तिको क्षति भएपछि स्थानीयहरूले घटना लगत्तै प्रहरीलाई जानकारी गराएका थिए। उनीहरूले प्रश्न गर्दै भनेका छन्, “मन्दिर र झरना सबैको साझा सम्पत्ति हुन्। साइन बोर्डले कसको गाँस–बास लुट्यो वा कसैलाई तनाव दियो ? होइन भने यसरी सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्य किन भयो ?”

स्थानीय बासिन्दाले दोषीलाई छिट्टै पहिचान गरी कानुन अनुसार कारबाही गर्न माग गरेका छन्। उनीहरूले यस्ता घटना बारम्बार दोहोरिन थालेकाले प्रशासन र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको र दोषी पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्