उपसभामुखविरुद्धको कसरतको प्रचण्डले गरे विरोध
काठमाडौं,भदौ ३ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले सुरु गरेको प्रयासको विरोध गरेका छन्। आज राजधानीमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले दुई ठूला दलले गलत कदम चालेको भन्दै असन्तुष्टि प्रकट गरे।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टी र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए। प्रचण्डले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने जानकारी बैठकमा दिएका थिए।
यसैबीच, कांग्रेस र एमालेका सांसदहरूले उपसभामुख रानाविरुद्ध महाभियोग प्रयोजनार्थ हस्ताक्षर अभियान सुरु गरेका छन्। महाभियोग पारित गर्न संसद्को दुई तिहाई बहुमत आवश्यक हुन्छ। तर कांग्रेसकै कतिपय सांसदहरूले हस्ताक्षर नगरेको बताइएको छ। कांग्रेस नेता शेखर कोइरालाले यो कदमलाई ‘बेमौसमी बाजा’ बताएका छन्।
हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख रानाले कोइरालासँग टेलिफोनमार्फत यस विषयमा संवाद गरेकी छिन्।

