नाडा अटो शोमा टेक्नोलोजीको चमत्कार, उड्ने कार देखेर अचम्मित दर्शक
काठमाडौं,भदौ ३ । ‘नाडा अटो शो २०२५’ को पहिलो दिनमै सबैको नजर तानेको मुख्य आकर्षण बनेको छ उड्ने कार । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शोको प्रदर्शनमा राखिएको उड्ने कार अवलोकन गर्न आउनेहरूको भीड व्यापाक छ ।
यो कार प्रधानमन्त्री केपी शर्मा ओली उक्त कारको औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । नेपालमा भने यो पहिलो पटक सर्वसाधारणका लागि प्रत्यक्ष अवलोकन गर्ने अवसर नाडाले जुराएको हो । अटो शोमा प्रविधिप्रतिको उत्सुकता र भविष्यका मोबिलिटी समाधानप्रति जनचासो झनै बढाएको देखिन्छ ।
यो कार पूर्ण इलेक्ट्रिक प्रविधिमा आधारित प्रणालीमा निर्माण गरिएको हो । दुई सिट क्षमताको यो कारले एकपटकको चार्जमा झन्डै ३० किलोमिटर उडान भर्न सक्छ भने यसको अधिकतम गति करिब १३० किमी प्रतिघण्टा रहेको छ ।
चीनको चांगन अटोमोबाइल कम्पनी र ईह्याङको सहकार्यमा निर्माण भएको यो उड्ने कार ‘दिपल’ उपब्रान्डअन्तर्गत पर्छ । जसलाई एमएडब्लू वृद्धि अटो कर्प प्रा.लि.ले नेपालमा ल्याएको हो । कार तातोपानी नाका हुँदै भरियाको सहायतामा काठमाडौं ल्याइएको हो ।
उड्ने कारमा मल्टी–प्यारासुट सुरक्षा प्रणाली समेत जडान गरिएको छ । जसले आकस्मिक अवस्थामा यात्रुको सुरक्षालाई सुनिश्चित गर्छ । यद्यपि, यो कार नेपालमा हाल प्रदर्शनीका लागि मात्र ल्याइएको हो । संचालन अनुमति नभएकाले मूल्य पनि तोकिएको छैन ।
छिमेकी मुलुक चीनमा भने यसको मूल्य झन्डै २ करोड रुपैयाँ बराबर पर्ने बताइएको छ । अमेरिका, चीन, कोरिया र यूएई लगायतका देशहरूमा यस्ता कारको परीक्षण उडान भइसकेको छ ।

