शिवपुरी गाउँपालिका–३ मा जेष्ठ नागरिकको परिचयपत्र नवीकरण र स्वास्थ्य परीक्षण



नुवाकोट,भदौ ३— सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, अशक्त तथा बिरामी लाभग्राहीलाई सहज सुविधा पुर्‍याउने उद्देश्यका साथ नुवाकोटको शिवपुरी गाउँपालिका–३ ले टोलटोलमै पुगेर सेवा प्रदान गरेको छ।

वडा अध्यक्ष नाती तामाङका अनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणसँगै जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण (रक्तचाप र सुगर) साबिक वडा नं. ९, ८ र ७ अन्तर्गत पर्ने मैदान, लिप्टोल, गुरुङ गाउँ र गुराँसे टोलमा गरिएको हो।

यसअघि साउन २८ र २९ गते काठमाडौंको सामाखुशीमा दुईदिने शिविरमार्फत नवीकरण कार्य सम्पन्न गरिएको थियो। त्यसपछि प्रत्यक्ष रुपमा गाउँमै पुगेर थप सेवा दिइएको वडा कार्यालयले जनाएको छ।

वडा नं. ३ मा कुल ३१९ जना लाभग्राहीमध्ये सामाखुशीमा ६५ जनाको परिचयपत्र नवीकरण भइसकेको छ। बाँकी लाभग्राहीलाई भने घरमै पुगेर नवीकरण तथा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराइएको वडा अध्यक्ष तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्