नुवाकोटमा नागरिकताको सिफारिस अब अनिवार्य रूपमा अनलाइनमार्फत



नुवाकोट,भदौ ३ — जिल्ला प्रशासन कार्यालय नुवाकोटले अबदेखि नागरिकताको सिफारिस अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेको छ।

कार्यालयले मंगलबार जिल्लाका ८८ वटै वडा कार्यालयलाई पत्र पठाउँदै आगामी भदौ १५ गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणाली प्रयोग गर्न अनुरोध गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जारी गरेको सूचनामा उल्लेख भएअनुसार नेपाली नागरिकताको प्रमाणपत्र वितरण प्रणालीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) प्रयोगमा ल्याइएको छ। यसमार्फत जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र जारी गर्ने व्यवस्था सुरु गरिएको छ।

यसअघि नै जिल्लाका धेरै वडाले अनलाइन प्रणाली प्रयोग गर्न थालेका भए पनि केही वडामा अझै व्यवस्था गर्न सकिएको थिएन। अब भने भदौ १५ गतेदेखि सबै वडामा अनिवार्य रूपमा अनलाइनमार्फत मात्र सिफारिस गर्नुपर्ने भएको छ।

यसअघि गृह मन्त्रालयले जिल्लाभरका सूचना प्रविधि अधिकृत, वडा सचिव र वडा सहायक कर्मचारीलाई भर्चुअल माध्यमबाट आवश्यक अभिमुखीकरण समेत प्रदान गरिसकेको छ।

हाल नुवाकोट जिल्लामा विदुरस्थित जिल्ला प्रशासन कार्यालय र सातबिसेस्थित इलाका प्रशासन कार्यालयमार्फत नागरिकता वितरण हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्