नेपाल रुबेला रोग निवारण गर्न सफल, डब्लुएचओको औपचारिक घोषणा
काठमाडौँ, भदौ ४ । नेपालले जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल रुबेला रोग निवारण गर्न सफल भएको घोषणा गर्दै दक्षिण पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको जनाएको हो ।
डब्लुएचओका अनुसार नेपालले खोपमार्फत बचाउन सकिने रोगविरुद्ध उल्लेखनीय प्रगति गरेको छ । यस उपलब्धि नेपालले खोप सेवामा गरेको निरन्तर प्रयास र दृढ प्रतिबद्धताको परिणाम भएको बताइएको छ ।
स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा. अभियान गौतमले डब्लुएचओका सम्पूर्ण चरण पूरा गरेर नेपालले रुबेला निवारण गरेको जानकारी दिए । उनका अनुसार पर्सा र पर्वत जिल्लामा परीक्षणका आधारमा, प्रयोगशाला, निगरानी प्रणाली, खोपको कभरेज लगायतका सूचकलाई मूल्याङ्कन गरी घोषणा गरिएको हो ।
दादुरा जस्तै देखिने रुबेला अत्यन्तै सङ्क्रामक रोग हो जसले गर्भवती महिलामा गम्भीर असर पुर्याउन सक्छ । यसले गर्भपतन, मृत शिशु जन्मिने वा जीवनभर असर पर्ने जोखिम हुने हुँदा यसको निवारण जनस्वास्थ्यको दृष्टिले महत्वपूर्ण मानिन्छ ।
डब्लुएचओ दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले यो उपलब्धि नेपालको नेतृत्व तहको दृढता, स्वास्थ्यकर्मीको लगनशीलता, महिला स्वास्थ्य स्वयंसेविकाको योगदान र आमजनताको सहयोगकै कारण सम्भव भएको बताए ।
साउन ६ देखि ८ गतेसम्म बसेको क्षेत्रीय प्रमाणीकरण आयोगको बैठकले नेपालको रोग निगरानी प्रणाली र खोप कभरेज दरको समीक्षा गर्दै नेपाललाई रुबेला निवारण भएको प्रमाणित गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालले क्षेत्रीय लक्ष्यभन्दा अगाडि रुबेला निवारण गर्न सफल हुनु राष्ट्रिय खोप कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धि भएको बताए । उनले गाभी र डब्लुएचओलगायत साझेदार संस्थाको सहयोगप्रति आभार व्यक्त गरे ।
नेपालले सन् २०१२ मा नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । सन् २०१६ मा दोस्रो मात्रा थप गरिएको थियो भने पछिल्ला वर्षहरूमा विभिन्न खोप अभियान सञ्चालन गरी सन् २०२४ सम्म पहिलो मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकासम्म पु¥याउन सफल भएको थियो ।
डब्लुएचओ नेपालस्थित प्रमुख डा. राजेश सम्भाजिराव पाण्डवले यो उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबीचको सहकार्यकै प्रतिफल भएको बताए ।

