नुवाकोटमा बाँदरको आक्रमणबाट किसानको ज्यान गयो



नुवाकोट,भदौ ४ — नुवाकोटको पञ्चकन्या गाउँपालिका २ स्थित कविलासमा बाँदरको आक्रमणबाट एक जना किसानको ज्यान गएको छ।

मकै खान खेतमा पसेका बाँदरलाई धपाउन गएका कविलासका ५८ वर्षीय गोकर्ण नेपालीमाथि दर्जनौंको संख्यामा बाँदरले सामूहिक आक्रमण गरेका थिए। बाँदरको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारले जनाएको छ।

स्थानीयवासीका अनुसार गाउँ घर सुनसान हुँदै जाँदा वन्यजन्तुको आतङ्क बढ्दै गएको छ। बाँदरले बाली नष्ट गर्नुका साथै मानिसमाथि समेत आक्रमण गर्ने घटनाहरू बढ्दै गएपछि किसानहरू त्रासमा बसिरहेका छन्।

यस दुःखद घटनाप्रति गाउँलेहरूले गहिरो शोक व्यक्त गरेका छन्।

उता इलाका प्रहरी कार्यालय पञ्चकन्याले भने बादरले आक्रमण गरे नगरेको भने पुष्टि नभएको जनाएको छ। एक प्रहरी जवानले भने- “हामी त्यहाँ पुग्दा उपचारका लागि लगिसकिएकोले आक्रमण वा अन्य कारण पुष्टि हुन बाकी छ।”

प्रतिक्रिया दिनुहोस्