नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने निर्णय



काठमाडौं, भदौ ४ । नेपाल शिक्षक महासंघको सातौँ पूर्ण बैठकले पुनः आन्दोलन गर्ने निर्णय गरेको छ।

लैनचौरस्थित शान्ति विद्या गृह माविमा मंगलबार र बुधबार (भदौ ३ र ४) दुई दिनसम्म चलेको बैठकले विद्यालय शिक्षा विधेयक, २०८० मा सरकारले महासंघसँग भएका विगतका सम्झौता नसमेटेको भन्दै आन्दोलनमा जाने निष्कर्ष निकालेको हो।

बैठकमा सहभागी संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भूपाल उप्रेतीका अनुसार आन्दोलन सुरु गर्ने मिति भने महासंघको कार्यालयीय बैठकले टुंगो लगाउनेछ।

बैठकले गत माघ २० गतेदेखि सुरु भई वैशाख १७ गते ९ बुँदे सहमतिपछि स्थगित आन्दोलनको समीक्षा गरेको थियो। त्यस क्रममा शिक्षा ऐनको विश्लेषण, आन्दोलनको स्वरूप र तालिका तथा ९ बुँदे सहमतिको कार्यान्वयन अवस्थामाथि छलफल गरिएको पनि उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्