अमेरिका भ्रमणबारे उपसभामुखले संसद्लाई जानकारी नदिएको सभामुखको भनाइ
काठमाडौँ,भदौ ५— सङ्घीय संसद्का उपसभामुख इन्दिरा रानाले आफू अमेरिका भ्रमणमा गएकोबारे संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले उपसभामुख रानाको भ्रमणको औचित्य र उद्देश्यबारे प्रश्न उठाउँदै उनी संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएका हुन् वा गैरसरकारी संस्थाको तर्फबाट गएका हुन् भन्ने जिज्ञासा राखिन्।
कांग्रेस सांसद रामहरि खतिवडाले पनि कार्यव्यवस्था तथा परामर्श समितिमा सभामुखसँग सोहीबारे प्रश्न उठाएका थिए। जवाफमा सभामुख घिमिरेले उपसभामुख संसद्को प्रतिनिधित्वका रूपमा नगएको र अन्य विवरण आफूलाई थाहा नभएको बताए। राना साउन ३० गते अमेरिका गएका थिए।
यसबीच, उपसभामुखलाई पदअनुकूलको आचरण नगरेको भन्दै प्रस्ताव दर्ताका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले हस्ताक्षर सङ्कलन गरेको विषयमा विपक्षी दलहरूले आपत्ति जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले प्रस्तावको विरोध गर्दै सत्तारूढ दलको कदम अलोकतान्त्रिक भएको आरोप लगाए। बैठकको सुरुवातमै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले दुई ठुला दलले व्यवस्थामाथि अपमानजनक व्यवहार गरेको उल्लेख गर्दै यस्तो प्रवृत्तिबारे सचेत रहन आग्रह गरे।
राप्रपाका सांसद रोशन कार्कीले संवैधानिक परिषद्को नियुक्ति सहज पार्न सत्तापक्षले उपसभामुखलाई हटाउन खोजेको आरोप लगाए। उनले निकट व्यक्तिलाई नियुक्ति दिलाउन परिषद्को निर्णय प्रक्रियालाई सहज बनाउन सत्तापक्षले यस्तो कदम चालेको टिप्पणी गरे।
त्यस्तै, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले पनि उपसभामुखविरुद्धको कदमको विरोध गर्दै सत्तापक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

