काठमाडौँ महानगरले सञ्चालन नभएका विद्यालयको अनुमति खारेज गर्ने तयारी
काठमाडौँ, भदौ ५ — सञ्चालन अनुमति लिएर विद्यालय नचलाइ किनबेच गर्ने प्रवृत्ति भेटिएपछि काठमाडौँ महानगरपालिकाले केही विद्यालयको अनुमति खारेज गर्ने तयारी गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयका कागजपत्र अध्ययन गर्दा सञ्चालनमा नरहेका तर स्वामित्व किनबेच भइरहेका विद्यालय पत्ता लागेको हो।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार नगर शिक्षा समितिको बैठकले यस्ता विद्यालयको दर्ता खारेज गर्ने निर्णय गरेको छ। हाल महानगरभित्र छ सयभन्दा बढी निजी तथा संस्थागत विद्यालय सञ्चालनमा छन्।
त्यसैगरी समितिले २५ विद्यालयलाई अङ्ग्रेजी नाम हटाई नेपालीपन झल्किने नाममा परिवर्तन गर्न अनुमति दिएको छ। केही विद्यालयलाई स्थानान्तरण, कक्षा १० सञ्चालन र प्राविधिक धारमा नयाँ विषय थप्ने अनुमति पनि प्रदान गरिएको छ।
यसैबीच सामुदायिक विद्यालय सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको छ, जसले गुणस्तर र दीर्घकालीन शिक्षा योजनाबारे सुझाव दिनेछ।

