प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गौतम बुद्ध विमानस्थलबाट गर्न आग्रह
रुपन्देही — सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँको संयोजकत्वमा गठित सङ्घर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न भारत भ्रमण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरेको छ।
बुधबार बसेको समितिको बैठकले विमानस्थलको दिगो सञ्चालनका लागि सरकारलाई दबाब दिने उद्देश्यले प्रधानमन्त्रीलाई पत्र पठाउने निर्णय गरेको हो। अर्बौंको लगानीमा बनेको विमानस्थललाई सक्रिय बनाउन प्रधानमन्त्रीको प्रयोगले सकारात्मक सन्देश जाने समितिको धारणा छ।
बैठकले स्थानीय तहका प्रमुखलाई समितिमा समावेश गर्ने, लुम्बिनीस्थित गुम्बासँग सम्बन्धित राष्ट्रका राजदूतसँग छलफल गर्ने र कार्गो सेवा सञ्चालनलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ।
यसअघि मंगलबार नागरिक सरोकार मञ्च नेपाल रुपन्देही, सिद्धार्थनगरले विमानस्थल नियमित सञ्चालन र कृषकलाई मल, बिउबिजन तथा सिँचाइ उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो।

