देशभर एम्बुलेन्स सेवा ‘१०२’
काठमाडौँ,भदौ ५ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा सञ्चालनलाई एकीकृत गर्न ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ जारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेको सो निर्देशिकाले अब देशभरका एम्बुलेन्स सेवा एकद्वार प्रणालीमार्फत सञ्चालन हुने व्यवस्था गरेको छ।
निर्देशिकाअनुसार जुनसुकै ठाउँबाट ‘१०२’ नम्बरमा सम्पर्क गरी एम्बुलेन्स सेवा लिन सकिने छ। सबै एम्बुलेन्सलाई जीपीएस प्रणालीमा आबद्ध गर्नुपर्ने प्रावधानसहित वर्गीकरण र सेवा शुल्कमा एकरूपता ल्याइएको छ।
गरिब, असहाय तथा विपदमा परेका बिरामीलाई निःशुल्क सेवा दिने व्यवस्था पनि निर्देशिकामा समेटिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार छरिएका एम्बुलेन्स सेवालाई एकीकृत सञ्जालमा ल्याई आकस्मिक उपचारमा नागरिकको पहुँच र सेवा गुणस्तरमा सुधार ल्याउने उद्देश्यले यो निर्देशिका जारी गरिएको हो।

