देशभर बदली, पहाडी र तराईका केही भागमा भारी वर्षाको सम्भावना
काठमाडौँ,भदौ ६। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले शुक्रबार दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा तथा तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति देशका पहाडी भागमा साधारणतया बदली रहने र अन्यत्र आंशिक बदली हुने महाशाखाले जनाएको छ। यस अवधिमा पहाडी भागका केही स्थानमा मध्यम वर्षा र गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहन सक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

