स्याङ्जामा बेमौसमी सुन्तला खेती: आठ महिना ताजा सुन्तलाको आपूर्ति
पुतलीबजार (स्याङ्जा), भदौ ६ । सुन्तलाको स्वाद लिन सामान्यतया कात्तिक–मङ्सिर कुर्नुपर्ने भए पनि स्याङ्जामा भने साउनदेखि फागुनसम्मै ताजा सुन्तला पाइने भएको छ । पछिल्ला वर्षहरूमा जापानिज ‘उन्सु’, पाकिस्तानी ‘किन्नु’ र मुन्तला जातका बेमौसमी सुन्तलाको खेतीले यहाँका कृषकलाई आकर्षित गरेको हो ।
यी जातका सुन्तला छिटो फुल्ने, लामो समयसम्म बोटमै टिक्ने र स्वादमा पनि स्थानीय जातभन्दा उस्तै हुने भएकाले कृषक यसतर्फ आकर्षित भएको किसान बोधराज अर्यालले बताए । उनका अनुसार मौसमी सुन्तला ६० रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरे पनि बेमौसमी सुन्तलाको मूल्य करिब दोब्बर पर्छ । अर्यालको बगैँचाबाट मात्रै बर्सेनि १४ लाख रुपैयाँभन्दा बढी मूल्यका सुन्तला बजारमा पुग्ने गरेका छन् ।
हाल पुतलीबजार, भिरकोट, अर्जुनचौपारीलगायत क्षेत्रमा उन्सु र किन्नु जातका सुन्तला खेती विस्तार भइरहेको छ । जिल्लाभर हाल तीन हजार ३५० हेक्टरमा विभिन्न प्रजातिका सुन्तला खेती हुँदै आएको छ भने बर्सेनि एक अर्ब रुपैयाँभन्दा बढीको सुन्तला निर्यात हुने गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ स्याङ्जाका प्रमुख अजय अधिकारीले जानकारी दिए ।
विसं २०७३ मा सुरु गरिएको ‘सुन्तला सुपरजोन’ कार्यक्रमअन्तर्गत किसानलाई प्रविधि, तालिम, गुणस्तरीय बिरुवा र अनुदानको सुविधा दिइँदै आएको छ । इकाइका प्राविधिक सहायक इन्द्रप्रसाद सुवेदीका अनुसार अब भण्डारण, प्याकेजिङ, प्रशोधन र बजार व्यवस्थापनमा विशेष ध्यान दिइँदैछ ।
स्याङ्जामा २०७४ बाट सञ्चालनमा आएको शीतभण्डार सहकारी संस्थाले पनि कृषकलाई ठुलो राहत दिएको छ । कोल्ड स्टोरको सुविधाले किसानले उत्पादन भण्डारण गरेर उचित मूल्य पाउन थालेका छन् ।
बेमौसमी सुन्तला खेतीसँगै स्याङ्जाको बाँझो जमिन सदुपयोग हुन थालेको छ । कृषकले वर्षमा करिब आठ महिना ताजा सुन्तला बिक्री गर्न थालेपछि यो खेती कृषि अभ्यास मात्र नभई आर्थिक र व्यावसायिक सफलताको नमुना बनेको छ ।

