सिरहामा यात्रुबाहक बसबाट लागुऔषधसहित तीन पक्राउ
सिरहा,भदौ ६— चोहर्वा–सिरहा सडक खण्डको विष्णुपुर गाउँपालिका १ हुँदै चोहर्वातर्फ आउँदै गरेको यात्रुबाहक विंगर बसबाट प्रहरीले खैरो हिरोइन जस्तो देखिने लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय विष्णुपुरका अनुसार गोप्य सूचनाको आधारमा रोकिएका बसमा चेकजाँच गर्दा मकवानपुर हेटौंडा १५ बस्ने ३८ वर्षीय दिनेश सुनार, इन्द्र सुनार र २९ वर्षीय विशाल गोलेलाई पक्राउ गरिएको हो। दिनेशको खल्तीबाट दुई वटा प्लाष्टिक पोका भेटिएका थिए, जसको तौल ७ ग्राम ३१० मिलिग्राम रहेको छ।
पक्राउ परेका तीन जनालाई बुधबारदेखि लागु हुने गरी सिरहा जिल्ला अदालतले चार दिनको म्याद दिई थप अनुसन्धान भइरहेको छ।

