नेपाल स्काउट राष्ट्रिय युवा परिषद् द्वारा ४ दिने युथ लिडरसिप ट्रेनिङ नुवाकोटमा सम्पन्न
नुवाकोट,भदौ ६ । नेपाल स्काउट राष्ट्रिय युवा परिषद्ले नुवाकोटको ककनीमा ४ दिने युथ लिडरसिप ट्रेनिङ कोर्स (YLTC) सफलतापूर्वक सम्पन्न गरेको छ । भाद्र २ गतेदेखि ५ गतेसम्म चलेको उक्त तालिममा सातै प्रदेशका १६ देखि २५ वर्ष उमेर समूहका ६१ जना युवाको सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा परिषद्को लुम्बिनी प्रदेश अध्यक्ष सुशील मरासिनीका अनुसार उक्त तालिममा कोशी प्रदेशबाट ११ जना, लुम्बिनीबाट ७ जना, बागमतीबाट १० जना, मधेश प्रदेशबाट १० जना, गण्डकी प्रदेशबाट १० जना, कर्णाली प्रदेशबाट ४ जना र सुदूरपश्चिम प्रदेशबाट ९ जना सहभागी भएका थिए ।
तालिममा सहभागी युवाहरूलाई सक्षम नेतृत्व विकास, स्काउट जीवन र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्ने तरिका, सामूहिक नेतृत्व क्षमता, प्रोजेक्ट व्यवस्थापन, संवाद कला, संघर्ष व्यवस्थापन, सामाजिक प्रभाव तथा अन्तरपीढी साझेदारीलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । ग्रुप छलफल र अन्तरक्रियात्मक विधिबाट सञ्चालन गरिएका ती सत्रमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक, एशिया प्यासिफिक प्रशिक्षक, एशिया प्यासिफिक युवा प्रशिक्षक तथा राष्ट्रिय युवा परिषद्का फेसिलिटेटर टोली संलग्न रहेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेले आफ्नो कार्यकालमा युवा लक्षित कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखी अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाले पछिल्ला केही चुनौतीहरूका बाबजुद कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याएकोमा राष्ट्रिय युवा परिषद्लाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल स्काउट राष्ट्रिय युवा परिषद्का अध्यक्ष पुकार ढकालले यो तालिम नेपालमा पहिलो पटक गरिएको र अपेक्षा भन्दा उत्कृष्ट परिणाम प्राप्त भएको बताउनुभयो । उहाँले कार्यक्रमलाई सातै प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने तथा आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ढकालले यस युथ लिडरसिप तालिम एशिया प्यासिफिक क्षेत्रबाट सिकेर आएको अनुभवलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा राष्ट्रिय कार्यकारी समिति सदस्य (आयुक्त) सुरज खनाल, एम ओ पी राष्ट्रिय संयोजक अर्पण कार्की, वाग्ग्स (WAGGS) ग्लोबल अफिसर रोजि तामाङ, लगाएत को आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेपाल स्काउट राष्ट्रिय युवा परिषद्का अध्यक्ष पुकार ढकालको अध्यक्षता र परिषद्का सदस्य विधिशा भट्टराई सञ्चालनमा सम्पन्न भएको थियो ।

