रोल्पामा अरिङ्गालले टोकेर १ विद्यार्थीको मृत्यु, ५ घाइते
दाङ,भदौ ६ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर १ जना विद्यार्थीको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
बिहीबार साँझ करिब ४ः३० बजे श्री वीरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थी विद्यालय छुट्टीपछि घर फर्किने क्रममा जङ्गलको बाटोमा हिँडिरहेको बेलामा अरिङ्गालले टोकेको हो।
टोकेर घाइते भएका विद्यार्थीहरूलाई सोही दिन राति करिब ९ बजे रोल्पा अस्पताल रेउघा ल्याइएको थियो। उपचारका क्रममा मध्यरात १ः१० बजे त्रिवेणी गाउँपालिका–७ धाक्रीपानीका वर्ष ७ का मोहन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
घाइते अन्य ५ जनालाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङमा रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरूमा सुनिता परियार, १४ वर्ष, शङ्कर परियार, १० वर्ष, मनीषा परियार, १० वर्ष, आशिष् परियार, ४ वर्ष, कमल परियार, ८ वर्षका रहेका छन् । उनीहरूको अवस्था पनि चिन्ताजनक रहेको प्रधानाध्यापक बरमन बुढाले जानकारी दिए ।

