वीरगन्जमा हैजाको प्रकोप, ३० जना बिरामी, दुई जनाको मृत्यु
वीरगन्ज,भदौ ७ । वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजा (Cholera) का बिरामी भेटिएपछि रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि स्वास्थ्यकर्मी टोली परिचालन गरेको छ। करिब ३० जना बासिन्दा झाडापखालाका कारण तराई हस्पिटल पुगेका थिए। परीक्षण गर्दा ३ जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको छ भने १६ वर्षीय बालकको अवस्था गम्भीर छ।
यसैबीच, नारायणी अस्पतालमा झाडापखालाबाट एक पुरुष र वीरगन्ज हेल्थ केयरमा एक महिलाको मृत्यु भएको छ। संक्रमितको श्रोत पत्ता लगाउन पिउने पानीको नमुना सङ्कलन गरी काठमाडौँ पठाइएको छ।
जनस्वास्थ्य अधिकृतका अनुसार पर्सामा १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो। दूषित खाना वा पानीमार्फत सर्ने यो रोग समयमै उपचार नभए ज्यान नै जाने चेतावनी चिकित्सकहरूले दिएका छन्। महानगरले उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, सफा खाना खाने र साबुनपानीले हात धुने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ।

