पर्सामा झाडापखालाका कारण दुई जनाको मृत्यु, अस्पताललाई ‘डेडिकेटेड बेड’ छुट्याउन निर्देशन
पर्सा,भदौ ७ । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु भएको छ। नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार उपचारकै क्रममा एक बिरामीको आज मृत्यु भएको हो भने वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ। जिल्ला स्वास्थ्य कार्यालयले दुवै मृत्यु झाडापखालाकै कारण भएको भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ।
यसैबीच, जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले हैजा र झाडापखालाका बिरामीका लागि वीरगञ्जस्थित सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ। बैठकको अध्यक्षता गरेका निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिरामी बढ्ने सम्भावना देखिएकोले पर्याप्त जनशक्ति परिचालनसहित आवश्यक तयारी गर्न अस्पताललाई निर्देशन दिइएको जानकारी दिए ।
बैठकले झाडापखाला रोकथामका लागि जनचेतनामूलक घरदैलो कार्यक्रम सुरु गर्ने, स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई प्रभावकारी रूपमा परिचालन गर्ने तथा वीरगञ्ज महानगरपालिकालाई सरसफाइ प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न अनुरोध गर्ने निर्णय गरेको छ।
यस्तै, हैजा फैलाउन जिम्मेवार मानिने भिब्रिओ कोलेरा जीवाणुको रोकथामका लागि सुरक्षानिकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी र गैरसरकारी संस्थाको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी जागरण अभियान सञ्चालन गरिने जनाइएको छ।

