नेपालको सहमति बिना छिमेकीले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोख्रेल
घोराही,भदौ ८ — नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले नेपालकै सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन्।
शनिबार दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङद्वारा आयोजित पत्रकार सम्मेलनमा पोख्रेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य ठहराए। उनले भने, “दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोगका सन्दर्भमा नेपालकै सहमतिबिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन्। नेपालको कूटनीतिक नियोगमार्फत असहमति जनाइएको छ। नेपालको सहमति र सहभागिताबिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ। तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ।”पोख्रेलले सुगौली सन्धि सीमानै वास्तविक सीमा भएको दाबी गर्दै नेपालको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए।
सरकारको कार्यक्षमता र उपलब्धिबारे उनले भने, “अघिल्लो अवस्था र अहिलेको अवस्था तुलना गर्दा यो सरकार सफल देखिन्छ। राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ।”
उनले एमालेको दोस्रो विधान महाधिवेशन भदौ २१–२३ मा हुने जानकारी दिए। महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन प्रस्तावमाथि छलफल हुने छ। पोख्रेलका अनुसार साढे छ लाख सदस्य छलफलमा सहभागी हुनेछन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे प्रश्नमा महासचिव पोख्रेलले भने, “पूर्वराष्ट्रपतीजस्तो सम्मानित व्यक्तिलाई कुनै गतिविधि गर्न नदिएर घरभित्रै बन्धक बनाउनु हुँदैन। सामाजिक रूपमा सक्रिय हुन कुनै रोकथाम छैन। बन्धक बस्नुपर्छ भन्ने होइन।”

