त्रिवि स्नातकोत्तर नेपाली विषयको पाठ्यक्रम परिमार्जन, स्वार्थप्रेरित र पूर्वाग्रही आरोप
काठमाडौँ, भदौ ८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातकोत्तर तहमा लागू गरिएको नेपाली विषयको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। छ महिनाअघि मात्रै लागू भएको नयाँ पाठ्यक्रम स्वार्थप्रेरित, पूर्वाग्रही र निषेधात्मक ढङ्गले निर्माण गरिएको आरोप लागेपछि विश्वविद्यालयका विद्या परिषद् र प्राज्ञिक परिषद्को निर्देशनमा पुनः संशोधनको प्रक्रिया अघि बढाइएको हो।
त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. कृष्ण न्यौपानेका अनुसार अहिले भर्ना भएका विद्यार्थीलाई पुरानै पाठ्यक्रम अनुसार पढाइ पूरा गर्न दिइनेछ भने नयाँ शैक्षिक सत्रदेखि मात्र परिमार्जित पाठ्यक्रम लागू गरिनेछ।
नयाँ पाठ्यक्रम निर्माण गर्दा निश्चित व्यक्ति र समूहको स्वार्थ हावी भएको, आफ्नै कृतिका विषयवस्तु हुबहु समावेश गरिएको, नारीवादी दृष्टिकोण र प्रगतिवादी धारका साहित्य हटाइएका लगायतका गम्भीर आरोप संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दर्ता भएपछि त्रिविले अध्ययन गरी संशोधन गर्ने निर्णय गरेको हो।
महिला साहित्यकार समूहले तत्कालीन विषय समितिका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको ‘डायस्पोराको सैद्धान्तिक स्वरूप (२०७९)’ पुस्तकको विषयसूची हुबहु पाठ्यक्रममा सारिएको भन्दै विरोध जनाएको छ। प्रमाण अध्ययन गर्दा लुइटेलको पुस्तक र स्नातकोत्तर तहमा पढाइ हुने ‘आप्रवासी नेपाली साहित्य’ विषयका सामग्री हुबहु मिल्ने देखिएको छ।
समूहका संयोजक रीता खत्रीले नयाँ पाठ्यक्रममा ६२ साहित्यिक पाठमध्ये महिला साहित्यकारका दुई वटा मात्र पाठ समावेश गरिएको उल्लेख गर्दै यसलाई असन्तुलित, एकपक्षीय र संविधानले अवलम्बन गरेको समावेशीकरणको सिद्धान्त विपरीत भएको बताएका छन् ।
यसअघि पनि महिला साहित्यकार समूहले विश्वविद्यालयका शिक्षाध्यक्ष, डिन र विषय समितिलाई तथ्यसहित ध्यानाकर्षण गराएको थियो। त्रिवि नेतृत्वले भने नयाँ भर्ना हुने विद्यार्थीलाई मात्र संशोधित पाठ्यक्रम लागू गरेर विवादलाई शान्तिपूर्ण ढङ्गले समाधान गर्ने तयारी गरेको जनाएको छ।

