सुटकेस भित्र भेटियो महिलाको शव
रौतहट,भदौ ८ । रौतहटको गौर–गंगापिपरा सडक खण्डअन्तर्गत मुडवलवा गेट नजिकबाट शनिबार राति प्रहरीले फेला पारेको शङ्कास्पद सुटकेसमा महिलाको शव बरामद भएको छ ।
सडक किनारमा भेटिएको सुटकेस डोरीले कस्सिएको अवस्थामा रहेको र त्यसभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
हत्या गरिएको अन्दाजी ३० वर्षीय महिलाको टाउकोमा चोट लागेको, रगत निस्किएको, घाटीमा निसान भेटिएको छ । महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सुटकेस भित्रबाट महिलाको शव फेला परेपछि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता कार्कीले बताए । फितलो शान्ति सुरक्षाका कारण पछिल्लो दिनमा रौतहटमा हत्या हिँसा, चोरीको घटनामा वृद्धि भएको छ ।

