वीरगन्जमा हैजा समुदायस्तरमै फैलियो, बिरामी १ सय ५० नाघे



वीरगन्ज, भदौ ८ । वीरगन्जमा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार साँझ तराई अस्पतालमा झाडापखाला लागेर भर्ना भएका तीन बिरामीमा हैजा देखिएपछि सङ्क्रमण तीव्र रूपमा बढेको हो ।

वीरगन्ज महानगरपालिकाका अधिकृत राजु साहका अनुसार आइतबार दिउँसोसम्ममा झाडापखाला लागेर अस्पताल पुगेका ५४ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ । अझै केही परीक्षणको नतिजा आउन बाँकी रहेकाले संक्रमितको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

हाल वीरगन्जका एक दर्जनभन्दा बढी अस्पतालमा करिब १ सय ५० भन्दा बढी झाडापखाला र हैजा पुष्टि भएका बिरामीको उपचार भइरहेको छ । नारायणी अस्पतालमा मात्रै हैजा पुष्टि भएका २५ जना र झाडापखालासहित ४५ जना बिरामी उपचाररत छन् । तराई अस्पतालमा १२, नेसनल मेडिकल कलेजमा ६, वीरगन्ज हेल्थ केयरमा ३ तथा अन्य अस्पतालहरूमा २-२ जना संक्रमितको उपचार भइरहेको छ ।

शनिबारसम्म ९२ जना उपचाररत रहेका बिरामीको सङ्ख्या आइतबार दिउँसोसम्म बढेर १ सय ५० नाघेको हो । अधिकांश बिरामी वडा नं. ११, १२, १६ र १८ का रहेका छन् ।

यसबीच, हैजाबाट मृत्यु नभएको स्थानीय प्रशासनले जनाएको छ । तर, अस्पताल ल्याउने क्रममा दुई बिरामीको मृत्यु भएको र दुवैमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको पुष्टि गरिएको छ ।

सङ्क्रमण नियन्त्रणका लागि महानगरले आइतबार र सोमबार सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, सडक छेउमा पाइने पानी पुरी, चाट, भाजा लगायतका खाद्यपदार्थ बिक्री वितरण नगर्न सबैलाई आग्रह गरिएको छ ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार हैजाका मुख्य लक्षणमा निरन्तर झाडापखाला, बान्ता, पेट दुख्ने, ज्वरो आउने, आँखा गाडिने, मांसपेशी दुख्ने र शरीरमा पानीको कमी हुनु पर्दछ । उनले समयमै उपचार नभए रोगले ज्यान समेत लिने चेतावनी दिए ।

वीरगन्ज महानगरले घरदैलो सचेतना अभियान, सरसफाइमा कडाइ, अस्पतालमा ‘डेडिकेटेड बेड’ को व्यवस्था र संक्रमित क्षेत्रमा किट वितरणको काम तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्