हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परिवारले गते परराष्ट्रमन्त्रीसँग भेट



काठमाडौं, भदौ ८ । हमास समूहको नियन्त्रणमा परेका नेपाली नागरिक विपिन जोशीको परिवारले आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन्।

विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले परराष्ट्रमन्त्री डा. राणासँग भेट गरी हालसम्म भएको कूटनीतिक प्रयासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सक्रियताका साथ निरन्तरता दिन आग्रह गरेका हुन्।

मन्त्री डा. राणाको पहल तथा नेपालस्थित इजरायली राजदूतावासको समन्वयमा विपिनकी आमा र बहिनी हालै इजरायल पुगेका थिए। त्यहाँ नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डित र इजरायली अधिकारीसँगको समन्वयमा उनीहरूले राष्ट्रपति लगायत उच्च अधिकारीलाई भेटेर विपिनको रिहाइका लागि अपिल गरेका थिए।

इजरायलबाट फर्केपछि परिवारले भेटमा त्यसबारे जानकारी गराउँदै सरकारलाई थप पहल गर्न अनुरोध गरेका हुन्। भेटका क्रममा परराष्ट्रमन्त्री डा. राणाले सरकार विपिनको रिहाइका लागि सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र यसलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भनिन, “यो एक वर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसंघीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च र द्विपक्षीय भेटवार्तामा विपिन रिहाइको मुद्दा उठाउँदै आएको छु। इजरायल, इजिप्ट, इरान, कतार, यूएई, टर्कीसहित विभिन्न मुलुकका विदेशमन्त्री र अधिकारीहरूसँगको छलफलमा पनि यो मुद्दा निरन्तर उठाइरहेको छु।”

सन् २०२३ अक्टोबरमा इजरायलमा रहेका विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए। करिब १० महिना बितिसक्दा पनि उनको अवस्था अज्ञात नै छ।

प्रतिक्रिया दिनुहोस्