विदुर नगरपालिकाबाट अशक्त नागरिकलाई सहयोग : कर्णबहादुर तामाङलाई ह्वीलचेयर प्रदान



विदुर, भदौ ८ । शारीरिक रुपमा पूर्ण अशक्त भएर हिँडडुल गर्न गाह्रो भएका नागरिकलाई जीवनयापन सहज बनाउन विदुर नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको छ। यसै क्रममा विदुर–१३ निवासी कर्णबहादुर तामाङलाई नगरपालिकाको तर्फबाट एक थान ह्वीलचेयर हस्तान्तरण गरिएको छ।

नगरप्रमुख राजन श्रेष्ठको पहलमा वडा नं. १३ का अध्यक्ष भरत तामाङमार्फत कर्णबहादुरलाई उक्त ह्वीलचेयर उपलब्ध गराइएको हो। सहयोग ग्रहण गर्दै कर्णबहादुरका परिवारजनले नगरपालिकाप्रति आभार व्यक्त गरेका थिए।

नगरप्रमुख श्रेष्ठले शारीरिक रुपमा अशक्त भएका नागरिक, विशेष गरी ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखी आवश्यक सहयोग सामाग्री उपलब्ध गराइरहेको जानकारी दिए । उनले ह्वीलचेयर मात्र नभई अन्य सहायक सामग्री पनि क्रमशः वितरण गरिने उल्लेख गरे ।

स्थानीयवासीले नगरपालिकाको यस कदमलाई मानवता र सामाजिक उत्तरदायित्वसँग जोड्दै प्रशंसा गरेका छन्। यसले शारीरिक असक्तता बोकेका नागरिकलाई सामाजिक जीवनमा थप सहजता ल्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्