वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि चिकित्सक टोली परिचालन हुने
काठमाडौँ, भदौ ९ । पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण र प्रभावितहरूको उपचारका लागि सरकारले चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा खटिने टोलीको व्यवस्थापन मिलाउन निर्देशन समेत दिएका छन् । “आवश्यकताअनुसार टोली परिचालनका निम्ति तत्काल तयारी थाल्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ,” प्रवक्ता काफ्लेले बताए ।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुखसहितका अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकले मुलुकको समग्र शान्तिसुरक्षाबारे पनि समीक्षा गरेको थियो।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादवबीच वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रणबारे छुट्टै छलफल भएको छ। स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी र निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको जानकारी मन्त्री पौडेलले दिएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ।

