नेपाल–भियतनामबीच हवाई सेवा, व्यापार र लगानीलगायतमा सहकार्य गर्ने सहमति



काठमाडौँ, भदौ ९ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनबिच हवाई सेवा, लगानी, सूचना प्रविधि, पर्यटन प्रवर्द्धन, व्यापार सम्झौता तथा कूटनीतिक सम्बन्ध सुदृढीकरणलगायतका विषयमा प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा व्यापक छलफल भएको छ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनबिचसँग उपराष्ट्रपति यादवले पर्यटन, आर्थिक विकास र आपसी साझेदारीलाई नयाँ अध्यायमा लैजाने सहमति गरेका हुन ।

भियतनाम बौद्ध धर्मावलम्बी राष्ट्र भएकाले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण सहज बनाउन नेपाल–भियतनामबीच सिधा हवाई उडान सुरु गर्ने विषयमा छलफल भएको छ भने भियतनामको प्रतिनिधिमण्डलले व्यापार एवं लगानी सम्झौता चाँडै गर्नुपर्नेमा जोड दिएको छ ।

भेटवार्तामा दुवै पक्षले लगानी सुनिश्चित गर्ने, डिजिटल प्रविधिमा साझेदारी गर्ने, जनता–जनताबीचको सम्बन्ध विस्तार गर्ने, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकासमा सहकार्य गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने विषयमा पनि परामर्श भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामकी उपराष्ट्रपति सुआनबिचबीच सिंहदरबारमा भेटवार्ता भएको छ, जहाँ आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन सरकार–सरकार, व्यवसायी–व्यवसायी र जनता–जनताबीचको सम्बन्ध सुदृढ गर्नेबारे विमर्श भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले बताए ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवका अवसरमा विशेष समारोह सम्पन्न भएको छ भने उपराष्ट्रपति सुआन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने, पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ मन्दिरलगायत ऐतिहासिक सम्पदाको अवलोकनपछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्