सरकारले उखु किसानलाई दिने अनुदानको बक्यौता तत्काल भुक्तानी गर्ने
काठमाडौँ, भदौ ९ । सरकारले उखु किसानलाई दिने अनुदान रकमको बक्यौता तत्काल भुक्तानी गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा प्रतिक्विन्टल ३५ रुपियाँका दरले बाँकी रहेको अनुदान रकम एक–दुई दिनमै किसानलाई उपलब्ध गराइनेछ । मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले अर्थ मन्त्रालयबाट सहमति ढिलाइ भएकाले रकम भुक्तानीमा ढिलाइ भएको भए पनि आइतबारदेखि प्रक्रिया अघि बढाइसकेकाले अब रकम चाँडै कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत भुक्तानी हुने जानकारी दिए ।
गत आवमा किसानलाई ७५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ भने किसानहरूले भने सरकारसँग करिब एक अर्ब ६० करोड रुपियाँ अझै पाउनुपर्ने दाबी गरेका छन् ।
यसअघि २७ असारको मन्त्रिपरिषद् बैठकले उखुमा दिँदै आएको अनुदान रकम ७० रुपियाँबाट घटाएर ३५ रुपियाँमा सीमित गर्ने निर्णय गरेपछि किसान आन्दोलित भएका थिए । अनुदान कटौतीविरुद्ध उखु उत्पादक महासङ्घको नेतृत्वमा आइतबार किसानहरूले गौशालाबाट नारा–जुलुससहित माइतीघर मण्डला र बानेश्वर चोकमा विरोध प्रदर्शन गरेका थिए ।
महासङ्घका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपियाँ भुक्तानी गरिसके पनि सरकारले वाचा गरेको अनुदान अझै नपाएकाले आन्दोलनमा उत्रनुपरेको हो । कृषि मन्त्रालयले यसअघि गत वर्षकै दर अर्थात् प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाए पनि सरकारले कटौती गर्दै आधा मात्र दिने निर्णय गरेको हो ।

