पूर्वमुख्य सचिव अर्यालको मुद्दामा पुनरावेदन



काठमाडौँ, भदौ ९ । अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले अर्यालसहित सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललगायतलाई प्रतिवादी बनाएर आइतबार पुनरावेदन दर्ता गरेको हो । अख्तियारले आर्थिक वर्ष २०७८/७९ मा स्टिकर छपाइका क्रममा अनियमितता भएको भन्दै अर्याललगायत १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले गत पुस १३ गते केहीलाई दोषी ठहर गर्दै अर्यालसहितलाई सफाइ दिएको थियो । सो फैसलालाई त्रुटिपूर्ण ठहर गर्दै अख्तियारले दोषीलाई सजाय तथा जरिवाना गर्न माग गरेको हो ।

अर्यालमाथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा गरेको आर्थिक अनियमितता जोडेर मुद्दा दायर गरिएको हो । निजामती सेवाका सर्वोच्च अधिकारीविरुद्ध दायर भएको यो पहिलो भ्रष्टाचार मुद्दा हो ।

प्रतिक्रिया दिनुहोस्