दूध उत्पादन गर्ने किसानलाई गोरखामा १५ लाख अनुदान



गोरखा,भदौ ८ — भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहनस्वरूप यस वर्ष १५ लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि गरिएको बजेट व्यवस्थाले किसानलाई पशुपालनतर्फ आकर्षित गर्नुका साथै जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यालयका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. अनन्त कोइरालाका अनुसार दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई प्रति लिटर ५ रुपैयाँका दरले अनुदान दिने व्यवस्था मिलाइएको छ । “दूध उत्पादनमा अनुदान कार्यक्रमले किसानलाई पशुपालनमा आकर्षित गर्नुका साथै साना किसानको घर–घरमा उत्पादित दूध पनि बजारसम्म पुग्ने बाटो सहज बनाउँछ,” डा. कोइरालाले बताए ।

अनुदान पाउन किसानले कार्यालयमा सूचिकृत दुग्ध उत्पादन सहकारीमा दूध संकलन गराउनुपर्ने कार्यविधि तोकिएको छ । यसरी सहकारीमार्फत मात्र रकम वितरण हुने भएकोले किसानलाई संगठित बनाउन पनि सहयोग पुग्ने विज्ञ केन्द्रको भनाइ छ ।

गत आर्थिक वर्षमा १० लाख रुपैयाँ मात्रै अनुदान विनियोजन गरिएकोमा यस वर्ष रकम बढाएर १५ लाख रुपैयाँ पुर्‍याइएको हो । गएको वर्ष गोरखा नगरपालिका–१४ को बुढीकोकी दुग्ध उत्पादन सहकारी संस्थाले मात्र आवेदन दिएकोमा यसपटक सिरानचोक र पालुङटार नगरपालिकामा पनि किसानलाई संगठित पारेर सहकारी स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको डा. कोइरालाले जानकारी दिए ।

पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत “उत्पादनमा आधारित प्रोत्साहन सहयोग” नाम दिइएको उक्त अनुदानबाट यो वर्ष करिब ३ लाख लिटर दूधलाई सहुलियत उपलब्ध हुने विज्ञ केन्द्रले जनाएको छ । किसानले पाउने रकम सहकारीमार्फत नै वितरण हुनेछ ।

कार्यविधिअनुसार सहकारीले दैनिक कम्तीमा २०० लिटर दूधको कारोबार गरेको हुनुपर्ने र संकलित दूधको प्रमाण उपलब्ध गराएपछि मात्रै कार्यालयले सहकारीलाई रकम प्रदान गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्