धरौटी अस्वीकार भएपछि रास्वपा सभापति रवि लामिछाने उच्च अदालत पुगे



बुटवल,भदौ ८— जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन्।

लामिछानेकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत उच्च अदालत बुटवलमा पुनरावेदन दर्ता गरेको जानकारी दिएकी छन्। उनले लेखेकी छन्, “आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ। मेरो श्रीमान भन्नुहुन्छ, ‘यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ।’ तर, श्रीमतीका रूपमा मेरो पनि जिद्दी छ— न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु।”

निकिताले जेलमा लामिछानेको सुरक्षा बारे पनि चिन्ता व्यक्त गर्दै बिगो तिरेर बाहिरबाट मुद्दा लड्न पाउनुपर्ने माग गरेकी छन्। “बिगो तोकिदेउ र त्यो बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो,” उनले भनेकी छन्।

गत साउन २६ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई धरौटीमा छाड्न अस्वीकार गरेको थियो। यसअघि, बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्