नुवाकोटको पञ्चकन्यामा चिया नर्सरी : रोजगारी, पर्यटन र आत्मनिर्भरतातर्फको नयाँ यात्रा
• भरतसन्तोषी लामा
नुवाकोट,भदौ ८— नुवाकोटको पञ्चकन्या गाउँपालिका अन्तर्गत रोजगार सेवा केन्द्रले सञ्चालन गरेको चिया नर्सरी फार्म अहिले झनै सुन्दर र आकर्षक रुप लिँदै गएको छ। ग्रिन नेटले संरक्षण गरिएको, व्यवस्थित ढंगले तयार पारिएको र रमणीय वातावरणमा रहेको यो चिया फामले भविष्यमा आन्तरिक रोजगारी सिर्जना गर्ने मात्र होइन, कृषि–पर्यटन प्रवर्द्धन र आर्थिक आत्मनिर्भरतामा समेत महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।
गाउँपालिकाको वडा नम्बर ४ मा करीब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको नर्सरीमा अहिले करिब ८० हजार चियाका बिरुवा हुर्काइएका छन्। माटोलाई मलिलो बनाएर ड्याङ तयार गरिएको र त्यहाँ राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ककनीबाट ल्याइएका २० हजार चियाका डाला काटेर रोपिएको छ। यसका लागि बजेट गाउँपालिकाले नै व्यवस्थापन गरेको हो भने प्राविधिक सहयोग पनि सोही बोर्डबाट प्राप्त भएको छ।
यस नर्सरीमा हुर्काइएका बिरुवामध्ये केही चाँडै नै १२ देखि १८ महिनाभित्र रोप्न योग्य हुनेछन्। ती बिरुवालाई सामुन्द्री सतहदेखि २,२०० मिटर उचाइमा रहेको घ्याङस्वारा पार्कमा रोप्ने योजना बनाइएको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए । हालसम्म सो पार्क क्षेत्रमा ४३ हजार चियाका बिरुवा रोपिसकिएको छ। यसपालि काटछाँटपछि चैत महिनादेखि उत्पादन सुरु हुने अपेक्षा गरिएको अध्यक्ष तामाङले बताए ।
पञ्चकन्या गाउँपालिकाका रोजगार संयोजक सरोज केसीका अनुसार, चियाबाट आउने उत्पादनलाई जैविक (अर्गानिक) बनाउन विशेष ध्यान दिइएको छ। ढुसी र किराहरूले समस्या गर्ने सम्भावना भएकाले रोग नियन्त्रण पनि प्राङ्गारिक तरिकाले गर्ने तयारी गरिएको उनले बताए। यसरी उत्पादन हुने चियाले बजार आपूर्ति मात्र होइन, गाउँपालिका भित्रैका इच्छुक कृषकलाई पनि मूल्य तोकेर वितरण गर्न सकिने योजना छ।
राष्ट्रिय रोजगार कार्यक्रम र गाउँपालिकाको साझेदारीमा सञ्चालन भइरहेको यो परियोजनाले गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावना देखिएको छ। यसले युवालाई गाउँमै काम गर्ने अवसर दिने मात्र होइन, चियाबगानले पर्यटकलाई आकर्षित गर्ने भएकाले स्थानीय स्तरमै नयाँ सम्भावना बोकेको छ।
सुनसान पाखा–पखेरामा हरियाली चियाका पाता पलाउँदै गर्दा, पञ्चकन्या गाउँपालिकाले आत्मनिर्भरतातर्फको ऐतिहासिक कदम चालेको छ। चिया नर्सरीको हरियो विस्तार आज यहाँका बासिन्दाका लागि आशाको हरियो सपना बन्न पुगेको गाउँपालिकाका अध्यक्ष तामाङले बताए ।

