पशुपतिनाथमा तिजको तयारी पूरा, बहुमूल्य गरगहना लगाएर नजान आग्रह



काठमाडौँ, भदौ ९ । हरितालिका तीज पर्वमा पशुपतिनाथ दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । हिन्दू नारीहरूको विशेष पर्वका अवसरमा भक्तजनलाई सहज रूपमा दर्शन गराउन सुरक्षा व्यवस्था, स्वयंसेवा, चन्दनप्रसाद वितरण, दर्शनमार्ग सुधार, आकस्मिक स्वास्थ्य सेवा, भजन–कीर्तन, दीपावली तथा गौदान गर्ने स्थानलगायत सबै तयारी सम्पन्न भएको कोषले जनाएको छ ।

दर्शनार्थीलाई व्यवस्थित बनाउन चार मार्ग निर्धारण गरिएको छ । तीमध्ये गौरीघाट, मित्रपार्क, पिङ्गलास्थान र तिलगङ्गाबाट हुने प्रवेशलाई प्राथमिकतामा राखी मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । साथै मूल मन्दिरभित्र आठवटा लामको व्यवस्था गरी भक्तजनलाई बिहान ३ बजेदेखि नै छिटो दर्शन गराउन ढोका खोलिने कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

श्रीयन्त्र पूजाको समयमा बाहिरैबाट दर्शन गर्न सकिने व्यवस्था गरिएको छ भने चन्दनप्रसाद वितरणका लागि विभिन्न स्थानमा चन्दन कक्ष स्थापना गरिएको छ । गौदान र धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ विशेष स्थान व्यवस्था गरिएको छ ।

विदेशी पर्यटकलाई प्रवेश शुल्क तिरेर मेला क्षेत्र (मन्दिर प्राङ्गणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताए । तर, बहुमूल्य गरगहना लगाएर वा ससाना बालबालिका लिएर दर्शनमा नआउन भक्तजनलाई आग्रह गरिएको छ ।

यस वर्ष कुनै पासको व्यवस्था नगरिएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता अनुसार नेपाली सेनासमेत खटाइने भएको छ । साथै राष्ट्रिय अनुसन्धान विभागको अनुगमन, सादा पोसाकका प्रहरीद्वारा पाकेटमारी नियन्त्रण, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, सरसफाइ लगायतका सबै व्यवस्था चुस्त रूपमा मिलाइएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्