तिजमा निराहार व्रत स्वास्थ्यका लागि हानिकारक : चिकित्सकहरूको सुझाव
काठमाडौँ, भदौ १० । नेपाली महिलाको महान् पर्व तिजमा निराहार व्रत बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्।
तिजमा महिलाहरू प्रायः पानीसमेत नखाई पतिको दीर्घायुका लागि व्रत बस्ने परम्परा छ। तर वरिष्ठ चिकित्सक डा. लोचन कार्कीका अनुसार दरमा अत्यधिक खाने र त्यसपछि पूरै दिन केही नखाई बस्दा शरीरमा आवश्यक पानी, भिटामिन, ग्लुकोज जस्ता तत्वको कमी भई विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन्। उनले निराहार व्रतले ग्यास्ट्रिक, मधुमेह, रक्तचापका बिरामीलाई अझ बढी जोखिम हुने चेतावनी दिनुभयो। लामो समयसम्म खाली पेट बस्दा पेटमा एसिड बढ्ने, अल्सर, थकान, कमजोरी र रक्तअल्पता जस्ता समस्या देखिन सक्ने उनको भनाइ छ।
यस्तै, पोषणविद् डा. उमा कोइरालाले पनि तिजमा केही नखाई बस्नु शरीरका लागि हानिकारक हुने बताउँदै दरमा अत्यधिक खाने गलत अभ्यासले झाडापखाला, मधुमेह, मोटोपन र उच्च रक्तचाप जस्ता समस्या निम्त्याउन सक्ने उल्लेख गरे । उनले पहिले व्रतको अघिल्लो दिन मात्र दर खाने परम्परा भए पनि अहिले लामो समयअघिदेखि दर खाने चलन बढेका कारण स्वास्थ्य समस्या बढिरहेको बताए।
चिकितकहरूको सुझावमा गर्भवती, दीर्घरोगी, वृद्धवृद्धा र स्तनपान गराइरहेका महिलाले निराहार व्रत नबस्नुपर्ने, व्रत बस्नै परे हल्का खाना, फलफूल र दूधजस्ता स्वास्थ्यकर भोजन लिनुपर्ने उल्लेख छ।
स्वास्थ्यलाई हानी पुग्ने भएकाले व्रतमा पनि सन्तुलित खानपान आवश्यक रहेको विशेषज्ञहरूको सन्देश छ।

