मुस्ताङमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने, ७५३ पालिकालाई निमन्त्रणा



काठमाडौँ, भदौ १० । मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनका असरबारे देशव्यापी ध्यान खिच्न विशेष पहल गर्न लागेको छ। गाउँपालिकाले भदौ ३१ गते देशभरका स्थानीय तहको प्रतिनिधित्व रहने गरी एकदिने राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो।

गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले देशैभरका ७५३ स्थानीय तहका प्रमुखलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाइएको जानकारी दिए । “उनीहरूले आ–आफ्नो पालिकामा देखिएका जलवायु परिवर्तनका असरबारे कार्यपत्रसहित आउनेछन,” अध्यक्ष लालचनले बताए ।

यसका लागि विभिन्न पालिकाले गृहकार्य थालिसकेको छ। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले हिमालमा हिउँ नपर्दा पहाडहरू काला देखिन थालेको उल्लेख गर्दै जलवायु परिवर्तनले कृषि, पशुपालन र जलविद्युत् क्षेत्रमा प्रतिकूल असर पारेको बताए।

त्यस्तै मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जीवच्छप्रसाद गच्छदारले वर्षामा पर्याप्त पानी नपर्दा धानलगायत बर्खे बालीमा ठूलो असर परेको बताए । “अघिल्ला वर्षहरूमा असार–साउनमा राम्रै पानी पर्थ्यो तर अहिले खडेरीजस्तै अवस्था भएको छ,” उनले भने।

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले अनियमित वर्षा, बाढीपहिरो र नयाँ रोगको संक्रमण बढ्नु जलवायु परिवर्तनकै असर भएको बताए। उनले मुस्ताङमा हुने सम्मेलनमा आफ्नो पालिकामा देखिएका असरबारे जानकारी दिने तयारी भएको उल्लेख गरे ।

गाउँपालिकाका अध्यक्ष लालचनले जलवायु परिवर्तनले कृषि, पर्यटन, पशुपालनलगायत क्षेत्र प्रभावित भएकाले अब ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । “हामीले नगरेको गल्तीको असर भोगिरहेका छौँ। पानीका मूल सुक्दै छन्, हिउँदमा हिउँ पर्दैन, सुक्खा मौसममा पहिरो जान थाल्यो,” उनले भने, “अब सबै स्थानीय तहका अनुभव संकलन गरेर ‘मुस्ताङ घोषणापत्र’ जारी गरी सम्बन्धित निकायलाई घचघच्याउने छौँ।”

गाउँपालिकाले स्थानीय तह, प्रदेश र संघीय सरकारले बजेट अनुसारका कार्यक्रममार्फत जलवायु परिवर्तन न्यूनीकरणका योजना बनाउनुपर्नेमा जोड दिएको छ।

सम्मेलनमा स्थानीय तहका प्रमुख, जलवायु विज्ञ तथा अन्य विषय विशेषज्ञ गरी करिब २,५०० सहभागी हुने अनुमान गरिएको छ। सो कार्यक्रममा करिब ६० लाखभन्दा बढी खर्च हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्