नुवाकोटको कालिकादेवीमा एसईई शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकलाई विद्यालयद्वारा सम्मान
नुवाकोट,भदौ १० । २०४४ सालमा स्थापना भएको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ को एक सामुदायिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकलाई विशेष सम्मान गरेको छ ।
विद्यालयले हरितालिका तीजको अवसरमा सोमबार बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी विद्यार्थी, शिक्षक, अभिभावक र अतिथिहरूसँग शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमसमेत सम्पन्न गरेको छ ।
कार्यक्रममा वडाध्यक्ष बिष्णु श्रेष्ठ, सुर्योदय अनाथाश्रम नेपालका अध्यक्ष निलकण्ठ आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दावाङ तामाङ, समितिका सदस्यहरू, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो । विद्यालयतर्फबाट उपस्थित सबैलाई हार्दिक आभार प्रकट गरिएको थियो ।
कार्यक्रममा नेपाली विषयका सुशील प्रसाद घिमिरे, अर्थशास्त्र विषयकी प्रतिमा बडाल, सामाजिक विषयकी मेनुका शर्मा र अंग्रेजी विषयका दिनेश उप्रेतीलाई सम्मान गरिएको थियो । शतप्रतिशत विद्यार्थीलाई सफल बनाउन योगदान पुर्याउने शिक्षकलाई विद्यालयले विशेष सम्मान गरेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले बताए ।प्रधानाध्यापक श्रेष्ठका अनुसार हाल विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् ।

